Friday, November 6, 2015

पाइल्सको समस्यामा खानको प्रभाव

पाइल्स मलद्वारमा देखिने समस्या हो । मलद्वारमा रहेको रक्तनली सुन्निनु अर्थात् रक्तनलीका तन्तु तथा मांसपेशी सुन्निएर स–साना डल्ला निस्कनुलाई पाइल्स अर्थात् हेमोरोइड भनिन्छ । जति यस तन्तुमा बल पुग्छ त्यत्ति नै सुन्निने हुन्छ । पाइल्स मलद्वारको बाहिरी अथवा भित्री भागमा पनि हुन सक्छ । यस्तो अवस्थामा ग्रसित व्यक्तिलाई बस्न, दिसा गर्न गाह्रो हुन्छ । जटिल अवस्थाको पाइल्स छ भने असह्य पीडा हुनुको साथै दिसामा रगत देखिने हुन्छ । यस अवस्थामा बढी रगत बग्ने हुँदा रक्तअल्पताको समस्या आउन सक्छ । त्यसैले समयमै औषधि उपचार एवम् शल्यक्रियतासमेत गर्नुपर्ने हुन्छ ।
पाइल्स जो–कोहीलाई हुन सक्छ । तर पनि ४५ देखि ६५ वर्ष उमेरका वयष्क तथा प्रौढ व्यक्तिहरुमा यसको सम्भावना बढी हुन्छ । विशेष गरी लामो समयसम्म कब्जियतको समस्या भई दिसा गर्दा बल गर्नुपर्ने स्थितिमा पाइल्स हुन्छ । साधारणतया वयष्क एवम् प्रौढावस्थामा मलद्वारको तन्तु–मांसपेशी कमजोर हुने, शरीरमा पानीको मात्रा कमी हुने र भोजनमा फाइबरयुक्त पदार्थको कमी हुनाले दिसा गर्ने समयमा बढी बल गर्नुपर्ने स्थिति सृजना हुन्छ । यसले गर्दा मलद्वारको नरम तन्तुमा तनाव पर्न गई सुन्निने र फलस्वरुप पाइल्स निस्कने हुन्छ ।

हुन त परिवारमा कसैलाई पाइल्स छ भने अन्य सदस्यमा पनि यो समस्याको सम्भावना बढी हुन्छ । तर व्यक्तिको जीवनशैली, दैनिक क्रियाकलाप, बानी, शारीरिक अवस्था, खानपानको प्रवृत्ति आदिले पनि प्रभाव पारेको हुन्छ । महिला–पुरुष दुवैमा पाइल्स हुन सक्छ । तर गर्भवती महिलामा यो समस्या बढी हुन्छ । यस समयमा शरीरमा निस्कने हर्मोन प्रोजेस्टेरोनको कारण मलद्वारको कोष तथा तन्तुहरु नरम हुन्छन् र थोरै बल पर्दा पनि तन्तुहरु सुन्निने भई पाइल्स हुन सक्छ ।

No comments:

Post a Comment