Thursday, October 22, 2015

ब्रम्हायणी मन्दिरमा बिहानै हजारौँको भीड

कार्तिक ५, २०७२- विजयादशमीको दिन आज भक्तपुर–१ च्यामासिंहस्थित ब्रम्हायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।  नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै आजको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ ।  ब्रम्हायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।  गठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय् अर्थात् राँगोलाई नवदुर्गा मन्दिरबाट जाँड खुवाई मत्ताएर लखेट्दै ब्रम्हायणी मन्दिर पुर्‍याएर बध गरेपछि रातिदेखि नै यो मेला सुरु हुने गर्दछ ।  बुधबारदेखि व्रत बसेका बिहान ३ बजेदेखि नै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसो गरेमा चिताएको पूरा हुने र पाप नष्ट हुने जनविश्वास रहेको छ ।  महिषासुर दैत्यको प्रतीक खःमेय् जात्रा सम्पन्न  विजयादशमीको अवसरमा दशमीको अघिल्लो दिन साँझ मनाइने भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राङ्गो जात्रा गएराति सम्पन्न भएको छ ।  धार्मिक एवम् सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने सो जात्रा महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमङ्गलका दिन खःमेय् अर्थात् राँगोलाई ल्याएर भक्तपुरको नवदुर्गा मन्दिर प्राङ्गणमा बाँधेर राख्ने र सोही राँगोलाई राति बध गरी मनाइने परम्परा रहिआएको छ ।  महानवमीको राति नवौदेवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने हुँदा परम्परागतरुपमा खःमेय्को बधजात्रा मनाउने प्रचलन रहेको स्थानीयवासीको भनाइ रहेको छ ।  तान्त्रिक विधिअनुसार ब्रम्हायणीमा खःमेय् अर्थात् महिषासुर दैत्यको प्रतीक राङ्गोको बध गरिएको हो । बध गरिएको खःमेय् राङ्गोको एक टुक्रा मासु लिन हजारौँ व्यक्तिको भीड लागेको थियो ।  सो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्युमा मुछेर धूप बनाई बाल्ने गरिन्छ । लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीवास हुने जनविश्वास रहेको छ । 

No comments:

Post a Comment