Monday, October 19, 2015

पहिलो महिला सभामुख घर्ती, सम्मानित भो आधा धर्ती




काठमाडौं, २९ असोज। नेपालको शासकीय स्वरुपका पाँच प्रमुख पदमध्येको एक विधायिका संसदमा नेपालको इतिहासमै पहिलो पटक महिला निर्वाचित भएकी छन् ।
रोल्पाको सामान्य परिवारबाट राजनीतिमा होमिएकी ओनसरी घर्तीले शुक्रबार नेपालको आधा धर्तीको शिर उच्च बनाएकी छन् ।
महिलालाई उच्च पद नदिइएको भन्दै यस मुलुकको आधा जनता त असन्तुष्ट थियो नै साथमा महिला अधिकारका पक्षमा सक्रिय पुरुष पनि महिलाको सम्मानका लागि उनीहरुलाई नेतृत्वमा ल्याउन नसकेकोमा असन्तुष्ट थिए ।
घर्तीका सम्बन्धमा व्यक्तिगत चिनारीसहितको समाचार बनाउँदै रासस लेख्छ, दोस्रो संविधानसभाको निर्वाचनमा एमाओवादीले सोचेअनुरुप नतिजा ल्याउन सकेन । २४० वटा निर्वाचन क्षेत्रमा भएको निर्वाचनमा २६ सदस्य मात्र प्रत्यक्ष रुपमा विजय हासिल गर्न सफल भयो, एमाओवादी । त्यसमध्येकी एक हुनुहुन्थ्यो ओनसरी घर्ती । पार्टीका ठूला र स्थापित नेताले निर्वाचनमा पराजय भोगिरहँदा माओवादी जनयुद्धको आधारभूमि मानिने रोल्पा क्षेत्र नं २ बाट निर्वाचन जित्ने एक्ली महिलाका रुपमा उनको सिंहदरबार प्रवेश भयो ।
शक्ति सन्तुलनका आधारमा उनले उपसभामुखको दायित्व कुशलतापूर्वक निर्वाह गरिन । संविधानसभाको काम कारबाहीमा सक्रिय योगदान र लगावले रोल्पाको सामान्य महिला घर्तीको उचाइ एकाएक बढाइदियो ।
संविधान घोषणालगत्तै नेपाली राजनीतिले कोल्टे फेर्यो । संविधान जारी गर्ने बेलामा प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिलाई अगाडि बढाउने वा नबढाउने भन्नेमा दलबीच विवाद देखियो । अन्तमा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओलीलाई एकीकृत नेकपा ९माओवादी०ले साथ एवम् सहयोग गर्यो र ओली प्रधानमन्त्री निर्वाचित भए ।
प्रधानमन्त्रीको चयनसँगै सभामुख र उपसभामुख चयन गर्ने कार्यतालिका प्रकाशित भयो । एमाओवादीले पार्टी महासचिव कृष्णबहादुर महरालाई सभामुखमा पठाउने चर्चा र परिचर्चा पनि चल्यो । तर, महराले निष्क्रियजस्तो लाग्ने सभामुखको पदमा जान अस्वीकार गरे ।
त्यसपछि प्रमुख सचेतक गिरिराजमणि पोखरेलको नाम सतहमा आयो, उनले पनि अनिच्छा प्रकट गरेपछि बिहीबार बसेको एमाओवादीको स्थायी समितिको बैठकले घर्तीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गर्यो । संयोग नै मान्नुपर्छ, नेपालको राजनीतिक इतिहासमा एउटा महिलाले पाएको सर्वोच्च सभामुखको पदमा घर्ती विजयी भएकी छन् ।
यसअघि उपसभामुखभन्दा माथि पदमा पहिला पुगेका थिएनन । नेपालको सर्वोच्च मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीस र सभामुख पदसँग मात्र सम्माननीय शब्द प्रयोग हुन्छ, त्यो पदवी प्राप्त गर्ने महत्वपूर्ण अवसर घर्तीले प्राप्त गरेकी छन् ।
यो सम्माननीय पद विगतको सङ्घर्षमय जीवनले निर्धारण गरिदिएको हो । निर्वाचनमा महिला नेत्रीहरु विजयी नहुनु,पार्टीका वरिष्ठ नेताहरुले सो पद अस्वीकार गर्नुले पनि घर्तीलाई सहज रुपमा बाटो खोलिदिएको हो ।
नवनिर्वाचित सभामुख घर्तीको जन्म रोल्पाको जङ्काट गाविस माडिचौरको एक साधारण किसान परिवारमा २०३४ साल कात्तिक २८ गते भएको थियो । ३८ वर्षको युवा उमेरमा नै सभामुख पदमा निर्वाचित हुने उनी सम्भवतः नेपालको राजनीतिक इतिहासमा कान्छो सभामुख हुन् ।
विसं २०४६ देखि विद्यार्थी आन्दोलनवाट राजनीतिमा प्रवेश गर्नुभएकी घर्ती २०४८ सालमा विद्यार्थी सङ्गठनको जिल्ला कोषाध्यक्ष र महिला जिल्ला सदस्य तथा नेकपा ९ एकता केन्द्र०को पार्टी सदस्यता प्राप्त गरिन् ।
माओवादीले २०५२ सालदेखि सुरु गरेको सशस्त्र सङ्घर्षमा रोल्पाबाट दलमा आबद्ध हुने थोरै महिला लडाकुमध्ये घर्ती एक हुन । विसं २०५२ मा पार्टीको जिल्ला भेलामा माओवादी नेता वर्षमान पुनसँग जनवादी प्रेम विवाह गरेकी उनले २०५२ सालको सशस्त्र सङ्घर्षको सुरुवातको रोल्पा होलेरी चौकी आक्रमणमा लडाकुका रुपमा सहभागी र भूमिगत जीवनको सुरुवात गरिन् ।
विसं २०५४ मा नेकपा माओवादी रोल्पा जिल्ला समिति सदस्य, २०५७ मा क्षेत्रीय ब्यूरो सदस्य, २०६० मा केन्द्रीय सदस्य, २०७० सालमा पोलिटब्यूरो सदस्य हुँदै २०६४ को पहिलो संविधानसभामा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनिन् ।
रोल्पादेखि पूर्वी पहाडसम्म माओवादी सशस्त्र सङ्घर्षलाई फैलाउन विशेष भूमिका निर्वाह गरेकी घर्तीले माओवादी सेनाको उच्च तहमा समेत पुगेकी थिइन । २०६७ को झलनाथ खनाल मन्त्री परिषद्मा युवा तथा खेलकुदमन्त्रीसमेत भएकी घर्ती दोस्रो संविधानसभामा रोल्पा २ नम्बर क्षेत्रवाट विजयी भइन् र उपसभामुख निर्वाचित भइन् ।
एमाओवादीमा ‘उषा’ नामले चिनिने घर्ती २०५२ सालमा तत्कालीन माओवादीको आदेशमा भूमिगत हुने थोरै रोल्पाली महिलामध्ये एक हुन् ।

No comments:

Post a Comment