Saturday, October 24, 2015

मैकोटे दसैँ


घाम झुल्किएसँगै दमाहा बजाउन सुरु हुन्छ। गाउँलेहरू बिहानै कोटमा जम्मा हुन्छन्। नजिकैको वनबाट मगर खाम भाषामा ‘आलिम’ भनिने लिंगो ल्याइपुर्‍याउनेलाई मानमनितो गरिनुका साथै दिनभर आरामले खानपिनको व्यवस्था हुन्छ।महानवमीका दिन पुरानो लिंगो फालेर नयाँ लिंगो गाडेपछि पूजाको काम अघि बढ्छ। भक्तजनले ध्वजापताका, अछेता, धूप, पैसा र जमरा मष्टा देवताको नाममा चढाउँछन्। वाrर्षिक सयको हाराहारीमा भेडाको साँढ बलि दिइन्छ।
मुखिया परम्पराका पुरोहित लजिम पुनलाई बलि दिनेदेखि टीको लाइदिन भ्याइनभ्याई हुन्छ। यसरी आपसमा सुख, दीर्घायू, उन्नति, समृद्धि तथा सुस्वास्थ्यको कामना आदानप्रदान हुन्छ। डेढ दर्जनभन्दा बढी दमाहा र ट्याम्को एकैतालमा बजाउँदा पुर्खा सम्झाउने स्थानीय बताउँछन्।
पूजाका क्रममा बीचबीचमा भरुवा बन्दुक पड्काइन्छ। पाठोहरूलाई चोखो सुनपाती पानीले पर्सिइन्छ। नपर्सिने पाठोलाई काट्न मिल्दैन। पूजा सकिएलगत्तै मामाको ढाडमा बोकिएको अवस्थामै भान्जाहरू नाच्दै मामाघर पुग्छन्। माइतीलाई जाँड, रक्सी, रोटी र मासुका परिकार टन्न खुवाउने चटारो हुन्छ। भान्जाहरूलाई दानदक्षिणा गर्छन्। रुकुमको उत्तरपूर्वी गाउँ मैकोटको बेग्लै किसिमको दसैँले गाउँलेबीच समन्वय, सद्भाव र सहकार्यको सन्देश दिएको छ ।

No comments:

Post a Comment