Friday, October 23, 2015

[कथा] सोनेलालको शैलुन

तपाईंले कुनै शैलुनमा दाह्री कटाउनुअघि कहिल्यै हजामको अनुहारको भाव पढ्ने गर्नुभएको छ ? ख्याल गर्नुभएको छ त्यसबेला उसको मनस्थिति कस्तो छ जतिबेला उसको एउटा हातमा छुरा र अर्को हात तपाईंको घाँटीमा हुन्छ ? जतिबेला उसले तपाईंको दाह्री भिजाउने बेलामा घाँटीको साइज नापिरहेको हुन्छ, सोच्नु भएको छ कि उसको दिमागमा त्यसबेला के चल्दै हुन्छ ? एकपटक तपाईं आफै आफ्नो घाँटीको रुद्रघण्टी छाम्नुस् त । त्यसभन्दा ठीकमाथि तपाईंको स्वासनली त्यहाँको छालाको यति नजिक हुन्छ कि त्यो काटिन हजामको छुरामा ‘जिलेट’ कम्पनीको ब्लेड नै चाँहिदैन, टोपाज अथवा डायमण्ड वा अरु कुनै सस्तो कम्पनीको भए पनि हुन्छ । मात्र विश्वासमा हामी आफ्नो घाँटी उसको जिम्मा लगाएका हुन्छौं । अझ कतिसम्मको विश्वास भने बरु तपाईं आफैँ काट्दा डराउनु हुन्छ । जति सुकै नजिक भए पनि तपाईं आफ्नै स्वास्नी वा अरु आफन्तलाई पनि तपाईं आफ्नो दाह्री काट्न दिनु हुन्न । तर जब तपाईं शैलुनमा जानु हुन्छ, कहिलेकाहिँ निदाउनु पनि हुन्छ । त्यसबेला तपाईं के विषयमा सोच्नु हुन्छ ? दिनदिनैको समस्या देशको अवस्था वा यस्तै केही । तर तपाईंले कहिल्यै पनि हजामसँगको आफ्नो सम्बन्धको बारेमा सोच्नु हुन्न । कल्पना गर्नुस् त तपाईं त्यसरी निदाउँदा ऊ तपाईंको घाँटी काट्ने वा नकाट्ने दोधारमा छ । जुन उसको अनुहारमा प्रष्ट देखिन्छ । तर तपाईंले आँखा बन्द गर्नु भएको छ । एक्कासी तपाईंको रुद्रघण्टी भन्दा माथि तपाईंले चिले जस्तो अनुभव गर्नु हुन्छ अनि आँखा खोल्नु हुन्छ । हेर्नु हुन्छ त्यहाँ थोरै काटिएको छ र काट्ने मानिस तपाईंको काटिएको ठाउँ हेर्दै उभिरहेको छ । तपाईंलाई त्यसबेलासम्म पनि त्यो हजामको सानो गल्ती नै लाग्छ । सानो गल्तीमाथि तपाईं हाम्रो कराई अलि ठूलै हुन्छ ।  ‘आँखा देख्दैनस् ? कति काटिएछ ?’ तपाईं उसलाई ऐना हेर्दै उसको प्रतिविम्वलाई हप्काउनु हुन्छ । तर उसले तपाईंलाई हेर्दै भन्छ, ‘मन त हजुर तपाईंको पुरै घाँटी काटिदिने थियो । तर शुकर मनाउनुस कि मेरो दिमाग फिरि गयो ।’ त्यसपछि तपाईं के गर्नु हुन्छ ? जब एकैपटक तपाईंले उसको आँखामा आफूप्रतिको आक्रोश र बदलाको चाहना देख्नु हुन्छ, तपाईंको प्रतिक्रिया त्यसबेला के हुन्छ ?  वास्तवमा मैले तपाईंलाई कुनै कथाको क्लाइमेक्स देखाउन खोजेकै होइन । मैले त तपाईंलाई सोनेलाल ठाकुरको जिन्दगीको क्लाइमेक्स अनुभूत मात्र गराउन खोजेको हुँ । जो यतिबेला यही घटना घटाएर पुर्पक्षका लागि सिरहाको थुनामा छ ।  ..........… यदि तपाईं सिरहा पुग्नु भएको छ भने सोनेलाल ठाकुरको शैलुन भेटाउन खासै गाह्रो हुँदैन । जिल्ला प्रशासन कार्यालयसँगै दक्षिणतिर दुर्गा मन्दिर छ । त्यसको दक्षिण लगभग एक विघा जति खाली ठाउँ छ जहाँ प्रत्यक शनिबार र मङ्गलबार हाट लाग्ने गर्छ । त्यसको पश्चिम लगभग एक विघा जतिमा फैलिएको पोखरी छ । पोखरीको उत्तरी किनारामा सिरहा नगरपालिकाको नयाँ भवन बन्दै छ । त्यहाँ पुगेपछि तपाईंलाई लाग्छ, मन्दिर, हाट र पोखरी सबै सरकारी जमिनमा बसेको छ । तर होइन, ती सबै सुरुमा मन्दिरको सम्पत्ति थियो । तर अहिले त्यस मध्य धेरैजसो सरकारी सम्पत्ति भएको छ । अहिले मन्दिरको नाममा त्यो मन्दिर मात्र रहेको छ । दक्षिणतिरबाट मानिसहरुले र उत्तरतिरबाट सरकारी कार्यालयहरुले जग्गा मिच्दै आएको छ । पोखरीकै किनारामा तपाईं केही काठका साना साना कठघाराहरु देख्नु हुन्छ । धेरैमा त तपाईं फोटोकपी तथा साना स्टेशनरी नै देख्नु हुन्छ । सबैभन्दा दक्षिण र ठीक हाटसँगै टाँसिएकोमा शैलुन छ ।  खासै धेरै केही छैन त्यहाँ । दुवै भित्ताहरुमा दुईवटा ठूला आयताकार ऐनाहरु थोरै तल ढल्काएर राखिएका छन् । त्यसको ठीक सामुन्ने दुईवटा कुर्सीहरु छन् । एउटा भित्तामा सानो झ्याल बनाइएको छ जहाँबाट सोनेलालले फोहरहरु फाल्ने गरेको छ । ऐनाभन्दा माथि सबै भित्ताहरुमा ठूला ठूला पोष्टरहरु छन् । बिश्वकर्मा बाबासँगै हिन्दी फिल्मकी चर्चित नायिका माधुरी दिक्षितका पनि पोष्टरहरु छन् । गौर गरेर हेर्ने हो भने थाह हुन्छ माधुरीका ती सबै पोष्टरहरु ‘साजन’ फिल्मका एउटै गीतका विभिन्न भावहरुका हुन् ।  जोत्नेको मोहयानी हक खेतमा लागे जसरी जमिनमा पनि हक लाग्थ्यो भने त्यो जग्गा जमानामै उसको भइसक्थ्यो । यो सोनेलाल र उसको बुवा पन्नालालको दावी मात्र होइन, त्यहाँका छरछिमेकले समेत त्यही भन्छन् । सिरहामा पहिलोपटक हाटलाग्दा नै सोनेलालको हजुरबुवा हिरालाल त्यही ठाउँमा कपाल काट्न बसेको थियो । बस्ने दुईवटा पिर्का, एउटा सानो ऐना, छुरा, छुराको धार तिखार्ने छालाको बेल्ट र सानो कचौरा सहित । त्यहाँ पछि पन्नालालले बाँसको खाँबामा खरको छानामात्र भएको छाप्रो बनायो । अहिले त्यहाँ सोनेलालले कठघारा हालेको छ ।  सोनेलालको ठूलो ईच्छा छ– त्यहाँ एककोठाको घर बनाई जयनगरको ‘रोशनी हेयर’ जस्तै शैलुन बनाउने छ । यसका लागि धेरै पापड पनि बेलेको थियो उसले । पछि आएका थुप्रैले घर बनाइसकेका थिए त्यहाँ । मन्दिरको महन्थको मृत्युपछि प्रशासनसँग मिलेर थुप्रैले जग्गाहरु आफ्नो बनाएका थिए । सोनेलालले जतिभन्दा पनि पन्नालालले मानेको थिएन । र बाचुञ्जेल उसले मानेन ।   ..........… ‘...रे, साँपके बच्चा साँपे होइछै । तु ओकरा कतवो दुध पिया, कहिया पलैटके काटतौ तोरा पता नै चल्तौ ।’ छ महिनाअघि लकवाले मरेको थियो पन्नालाल । तर उसले सुबलाल अधिकारीको बारेमा भनेको कुरा अझै पनि सोनेलालको दिमागमा फनफनी नाचिरहेको छ ।  ‘बेटा, तोरा मालुम हौ हमर बाप यानी तोहर बाबाके नागरिकता कैला नै बनल रहौ ?...’ ‘नै !’   उसले पटकपटक सुनेको भए पनि बुवाको मन राखिदिन त्यही भन्थ्यो । अर्को पनि कारण थियो, जुन शैली र भाकामा पन्नालालले आफ्नो कुराहरु सुनाउँथ्यो, त्यसको ऊ एक प्रकारले फ्यान नै भएको थियो । उसले आफ्ना ‘एकतुरिया’हरु माझ त्यसरी नै गफ लगाउन खुबै प्रयास गरेको हो । तर कहिल्यै सकेन ।  ‘ई सुबलाल अधिकारी जे हौ ? ओकर दादा रहै वृजलाल अधिकारी...’ पन्नालालले यसरी नै आफ्नो कुरा सुरु गर्‍थ्यो । खासमा वृजलाल अधिकारी राजविराज अदालतमा न्यायाधीश थियो । त्यसबेला सिरहा र सप्तरी जिल्ला छुटिएको थिएन । शैलुनहरुको चलन थिएन । प्रत्येक ठाकुरहरुको परिवारलाई कमाइ खान जिम्दारीमा आ–आफ्नो गाउँहरु थिए । जहाँ उनीहरु घरघरै गएर दाह्री कपाल काट्थे ।  त्यस दिन वृजलाल अधिकारी घरमै थियो । र आफ्नो दाह्री बनाउनका निम्ती पन्नालालको बुवा हिरालालाई ल्याउन घोडासहित आफ्नो नोकरलाई पठाएको थियो । त्यसै दिन हिरालाल पन्नालाललाई लिएर आफ्नो जिमदारीमा पर्ने बेल्हा गाउँमा ‘नकेस’को निम्ति गएको थियो । जसको घरमा मृत्यु भएको थियो, तिनीहरु आफैं पाँच दाजुभाई थिए । पाँच दाजुभाईका छोराहरुसहित जम्मा २५ जनाभन्दा बढी त लोग्ने मान्छे र केटाहरु नै थिए । जसका कपाल र दाह्री दुवै खौरनु पथ्र्याे । त्यतिकै सङ्ख्यामा केटी तथा आइमाईहरु थिए । जसका नङ काटनु पथ्र्याे । खासै ठूलो भएको थिएन पन्नालाल तर, उसले नङ भने काट्न जानीसकेको थियो । यस अर्थमा ऊ कुरा बुझ्ने पनि भइसकेको थियो । घरमा उनीहरुलाई नपाएपछि वृजलालको नोकर बेल्हा पुग्दा पन्नालाल लाइन लगाएर नङ काटिरहेको थियो ।  ‘आब तुहेँ कह त, चाहे कोई कतबो बडका आदमी भजाई केकरो नकेस छोइडके जायक चाहिँ ?’ पन्नालालले टाउको हल्लाउँदै सोनेलालसँग सोध्थ्यो । उसले पनि टाउको हल्लाएरै प्रतिउत्तर दिन्थ्यो । उसको हजुरबुवाको त्यो इन्कारले जिल्लाभरि ठूलै चर्चा पायो । हिरालालले न्यायधीशलाई टेरेन । यो कुराले पछिसम्म पनि चर्चा पाइरह्यो । यसको अनुभव सोनेलालले आफंै पनि गर्न पाएका थिए । लहानमा भएको जिल्ला नाई संघको अधिबेशनमा जब मानिसहरुले ऊ हिरालालको नाति भएको थाह पाए उनीहरु आफै उसँग नजिक हुन आए । उसले मानेकै थिएन तर सबै मिलेर उसलाई एकै पटक जिल्ला नाईसंघको उपाध्यक्ष पनि बनाए ।  जति ठूलो चर्चा त्यस घटनाले पायो, त्यति नै ठूलो मूल्य हिरालालले चुकाउनु परेको थियो । हिरालाल जीवनभरी र पन्नालालले तीस नाघुञ्जेलसम्म नागरिकता बनाउन पाएन ।  ‘ई त हमर भाग बन्हिया रहौ से यम्हर परजातन्तर येलौ आ ओम्हर वृजलाल बितलौ । तब जाके मात्रे हमर नागरिकता बनलौ ।’ २०४६ सालको आन्दोलनपछि नागरिकता बनाउने टोली गाउँ नै पुगेको थियो । गाउँ पञ्चायतले सिफरिस गरेपछि पन्नालालको नागरिकता बनेको थियो । नागरिकता नहुनुको पीडा सोनेलालले पनि देखेको थियो । आफैंले कमाएको सम्पति पनि आफ्नो नाममा गर्न पाएको थिएन पन्नालालले । त्यसैले पन्नलालले सुवलाल अधिकारीलाई देखिसहदैनथ्यो । तर सोनेलाल पुरानो कुरालाई लिएर नयाँ अवसर गुमाउन चाँहदैनथ्यो । सिरहा जिल्ला अदालतमा वकिल थियो सुबलाल अधिकारी । उसको आफ्नै ल फर्म पनि थियो । सिडिओ, एलडिओ सबैसँग उसको राम्रो उठबस हुन्थ्यो । उसले सुबलाल अधिकारीसित कहिल्यै पैसा लिएन । जतिसुकै भीड हुँदा पनि सुबलाल अधिकारीलाई कहिल्यै कुराएन । सुबलाल अधिकारीलाई पनि यो कुरा राम्ररी थाह थियो । भीडभाड छ भने उसले घण्टौ लगाइदिन्थ्यो । पुरै शरीर मालिस गराउँथ्यो । मुर्मरिएर भए पनि सुबलाल अधिकारीले जे भन्थ्यो सबै गथ्र्यो सोनेलालले । ..........… त्यो दिन उसले शैलुन सफा पनि गरेन । न त विशकर्मा बाबाको पोष्टरमा धुपआरती नै देखायो । माधुरी दिक्षितको पोष्टर देखेर मुस्काएन पनि ऊ । झोक्रएर बसिरहेको थियो, त्यहिबेला सुबलाल अधिकारी उसको अगाडी देखा पर्यो । अरु बेला जसरी दुबै हात जोडेर ‘प्रणाम वकिल साहेब ’ भनेन उसले । र पनि सुबलाल ङिच्च हाँस्दै कुर्सीमा बस्यो ।  ‘कि सोनेलाल सब ठिकठाक छौ ?’ केही बोलेन सोनेलाल । सुबलालको अनुहार त्यसबेला सर्प जस्तै लाग्यो । उसको बुवाले भनेको सर्प जस्तै । पुच्छरमै खडा भएर फुफकारी रहेको, डस्नको लागि तयार सर्प जस्तो । उसको मनभित्रको तनाव र अनुहारमा बदलिरहेको भावलाई खासै वास्ता गरेन सुबलालले । वास्ता गर्न जरुरी पनि ठानेन ।  ‘ले ले जल्दीसे हमर दाह्री बनात । आई बड्का मुद्दाके फैसला होइवला है ।’ केही क्षण् सम्म ऊ गम्छा समातेर त्यतिकै उभिरह्यो । त्यसपछि गम्छालाई जोडसित झड्कार्‍यो । त्यसमा टाँसिएर रहेका रौहरु सुबलालको शरीरमा पनि पर्‍यो ।  ‘देखके झार न रौ !’ सुबलाल करायो । तर उसले कुनै प्रतिक्रिया दिएन । गम्छाले उसको घाँटी बेर्यो । अनि हातमा पानी लगाएर उसको दाह्री भिजाउन थाल्यो । उसको सोचाइको गतिसँगै उसका हातहरु पनि तिव्रसँग चलिरहेको थियो । तर ती कुनै कुराहरुको वास्ता सुबलाल अधिकारीले गरेको थिएन ।  ..........… ‘कि सब दिन कठघरामे शैलुन चलाबके विचार केने छही कि घरो बनेबही ।’ जुन दिन सुबलाल अधिकारीले आफै उसित यस्तो कुरा गर्यो उसलाई लाग्यो साक्षात ईश्वर नै उसको अगाडी आएको होस् । त्यसबेला थुप्रैले त्यहाँको ऐलानी जग्गा आफ्नो नाममा पास गराइसकेका थिए ।  ‘विचार त है नि मालिक । आव अहाँ सब दया करबै तैहीँ न कुछ होतै ?’ त्यस दिन उसले आफ्नो बुवा पन्नालाललाई मनमनै खुब सम्झ्यो । आखिर बुढाको कुरा मानेको भए यो दिन उसले कहाँ देख्न पाउँथ्यो । सुबलाल अधिकारीलाई सेवा गरेकोमा उसले त्यो दिन खुबै गर्व मानेको थियो ।  ‘दू धुरसे भजेतौ ?’ ‘भजेतै ।’ ‘लेकिन खर्चा त कर परतौ । नापी और मालपोतमे एक एक लाखसे निच्चा त नै मानतौ । ओतबे खर्चा तोरा सिडिओ और एलडिओके सेहो कर परतौ । हमरा त छोड्, काम भेलाके बादमे जते मन लगतौ द दिहा ।’ जम्मै हिसाब गर्दा उसले बढीमा पाँच लाख खर्च गर्नु पर्ने हुन्थ्यो । तर त्यो जमिन पाँच लाखको धुरमै बिक्थ्यो । त्यस हिसाबले पनि उसले फाइदा नै देख्यो । त्यसको लागि उसले पटकपटक गरेर तीन विघा खेत बेचेको थियो । गाउँका अरुले उसलाई सम्झाउन नखोजेको होइन । तर उसले भन्थ्यो, ‘खेत रायखेक कथि होतै, करैयोबला चाहिँ नै कोई ? बटैयामे लगाऊ, अपनो किनेक खाइ परैछै । त ई खेत रायखेक कोन फाइदा ?’ पैसा दिने बेलामा कागज गराउनेकी भनेर डराइडराइ कुरा चलाएको थियो उसले ।  ‘रे तु वकिलसे कागज करेवही ?’ केही बोल्न सकेको थिएन उसले । मनमा त डर उसको त्यसबेला नै पसिसकेको थियो र पनि पटकपटक गरेर तीन लाख पैसा उसलाई दिइसकेको थियो । जबजब उसले जग्गाको नामसारीको कुरा गथ्र्यो, कुनै न कुनै बहाना गरेर टाथ्र्यो । अझ एकपटक उल्टै हप्काउँदै भनेको थियो, ‘तब त कहैछियौ, सब दिन गवारके गवारे रहबे । देखै नैछि अख्तियार चारु दिशा छापा मारै है ? तोरा खातिर कोई अपन नोकरी त नैने गवैतौ ? कि तोरा हमराप भरोशा नै हौ ?’ सोनेलालको समस्या एउटै थियो, उ सुबलाल अधिकारीको अगाडी केही बोल्नै सक्दैनथ्यो । यसको मतलब यो होइन कि उसलाई केही कुरा नै थाह हुँदैनथ्यो । सबै कुरा थाह पाउँदैथियो उसले । झट्का त उसलाई त्यसबेला लाग्यो, जब उसले थाह पायो, सुबलाल अधिकारीले कुनै पनि हाकिमलाई एक रुपैयाँ पनि दिएको छैन । दुवै कार्यालयको हाकिमसँग आफैं कुरा गरेको थियो उसले । सुबलालले कसैसँग कुरा पनि गरेको रहेनछ । कुरा थाह पाएको रातभरि उसले आफ्नो बुवालाई सम्झ्यो । बिहा गरेको थिएन उसले । दाजुभाई पनि कोही थिएन । तनावमा उसले धेरैपटक बडबडाउँदै आफ्नो बुवासित गफ गरेको थियो ।  ‘देखा देलकौ नै ऊ तोरा असली रुप । कहने रहियौ साँपके बच्चा साँपे होइछै ? धरलकौ ने बन्हिया जिका ?’ ऊ पनि खुबै आक्रोशित देखिन्थ्यो त्यसबेला ।  ‘ऊ माधर... हमरा कथि दखेतै ? ओकरा हम देखेबै । हमरा कथि है ? ने अगाडी नाथ ने पछाडी पघा ? लेकिन ऊ माधर...के हम देखादेबै ।’ ..........… सुबलाल अधिकारीको दाह्री भिजाउञ्जेलसम्म सोनेलालले धेरै कुराको निर्णय गरिसकेको थियो । मानिसको चहलपहल पनि कम थियो । रुद्रघण्टीभन्दा ठीकमाथि एकपटक छुरालाई बाँयाबाट दायाँ ताने पुग्थ्यो । एक क्षणसम्म छटपटाउँदै गरेको सुबलाललाई समाते पुग्थ्यो । जसरी बोकालाई हलाल गर्दा समातिन्छ । तर जसै उसले दाह्री काट्न सुरु गर्‍यो, सुबलालले आँखा चिम्म गर्‍यो । उसको मुटुको गति तिव्र हुन थाल्यो । काट्ने उदेश्यले दुई पटकसम्म पछाडी पुगेको थियो ऊ । उसको चिउडो समातेर छुरालाई घाँटी नजिक लगेको पनि थियो । तर जसै ऐनामा सुबलालको निदाएको र आफ्नो पसिनाले भिजेको अनुहार देख्थ्यो, उसको मुटु फुट्ला जसरी धड्कन्थ्यो । कुनै पाइपमा मसिने प्वाल पर्दा पानीको मसिनो फोहरा निस्कै झै सुबलाल अधिकारीको घाँटीबाट निस्कीरहेको रगत, रगतले भिजेको ऐना र त्यहाँ देखिने आफ्नो बिद्रुप अनुहार । ऊ भयभित पनि भएको थियो ।  हात पनि पसिनाले च्याप च्याप भएको थियो । थुप्रैपटक त सुबलाल अधिकारीको गाला काटिनबाट जोगाएको थियो । शरीर तातेर कान रातो भएको थियो । दाह्री काट्नुको अन्तिम चरणमा थियो ऊ । अन्तिमपटक प्रयास गर्न फेरि उसको पछाडी पुगेको थियो । यसपटक त उसले आँखा पनि चिम्लेको थियो । तर आँखा चिम्ले पनि छट्पटाउँदै गरेको सुबलालको अनुहार, रगतले भिजेको आफ्नो हात, पोतिएको ऐना मात्र देख्यो उसले । मुटुलाई जति कठोर बनाउन खोज्थ्यो त्यति नै सकस हुन थालेको थियो । अन्तमा उसले छुरालाई बाँयाबाट दायाँ तानेन । माथितिर तान्यो । चिउडोभन्दा ठीक तल कोठी थियो सुबलालको । त्यो कोठी काटियो । अनि बल्ल सुबलालले आँखा खोल्यो ।  ‘कि केलही तु ? देखाइ नै दै छेलौ ?’ उसले घाँटी छाम्यो ।  ‘मन त तोहर पुरे घेँट काटके रहै । ई त शुकर मनाब की हमर दिमाग फिर गेल ।’ त्यसपछि बल्ल सुबलालले उसको अनुहार नियाल्यो । आक्रोश र तनावले रगत चुहिएला जस्तो रातो, पसिना लतपत सोनेलालको अनुहार देखेर सुबलाल अधिकारी तस्र्यो । साक्षात यमदुत उभिएको जस्तो लाग्यो उसलाई । निकै जोडसँग उठ्यो ऊ घाँटीको गम्छा पनि फुकालेन । भाग्दा आफू बसेको कुर्सी, अरु बस्न राखिएको टेबल सबै लडायो उसले । कठघाराबाट हाम फाल्दा जोडसँग लडेको पनि थियो ऊ । तर सोनेलाल उभिरह्यो । मानौ कुनै ठूलो पर्दा उसको आँखा अगाडीबाट हटेको छ । वा एउटा लामो अन्धकार पछि ऊ छर्लङ्ग उज्यालोमा पुगेको छ । त्यसबेला न ऊ डराएको थियो न त रिसाएको नै । सुबलाल अधिकारीले प्रहरी लिएर आउँदा समेत ऊ त्यतिकै उभिरहेको थियो । प्रहरीले उसलाई कुट्दा समेत उसले कुनै प्रतिक्रिया जनाएन । प्रहरीले उसँगै दाह्री काट्ने छुरा पनि लिएर गयो ।  ..........… आवेशमा सुबलाल अधिकारीले हत्याको प्रयास सम्बन्धी मुद्धा दायर गरिसकेको थियो । दाह्री काट्ने उसको काम हो । आखिर ऊ मेशिन त होइन जसबाट गल्ती नहोस् । सुबलाल अधिकारीको घाँटी काटने उसको नियत हो या होइन यस विषयमा छानविनका लागि अदालतले पुर्पक्षमा एक हप्ता थुनामा राख्न आदेश सुनाएको थियो ।  (मैले यो कथा तयार पार्दासम्म सोनेलाल पुर्पक्षको लागि थुनामै थियो । सुबलाल अधिकारीलाई उसको मुद्दाको कमजोर धरातल त्यतिबेला थाह भयो, जब जिल्ला नाईसंघले सोनेलालको लागि मुद्धा लड्ने घोषणा नै गर्‍यो । उसलाई थुनामा लगेदेखि नाईसंघले जिल्लाभरीका शैलुनहरु बन्द गरेका छन् । एकपटक जिल्ला प्रशासन कार्यालयमा डेलिगेसनसमेत पुगेका थिए । अझ पैसा सम्बन्धि कुरा खुल्ने डरले सुबलालले मुद्दा फिर्ता लिने मनिस्थिति बनाइसकेको छ । सिडिओले आफै बोलाएर सुबलाललाई यही सल्लाह दिएको थियो । यदि तपाईं सिरहा पुग्नु भयो भने र जिल्ला प्रशासन कार्यालयले उसको शैलुनलाई त्यहाँबाट हटाएन भने त्यहाँ एउटा कालो न कालो, लामो कपाल पालेको ख्याउटे अन्दाजी २४ बर्ष जतिको केटालाई एकहारो कपाल काटेको देख्नु हुन्छ । उसको निधारमा चोटको खत छ भने सम्झिनु ऊ नै सोनेलाल ठाकुर हो । जसको न अगाडी नाथ छ न पछाडी पघा, बस ऊ एक्लो छ । उसँग विरासतमा त्यही कपाल काट्ने कला छ जुन उसको जिन्दगी चलाउन काफी छ ।)  

No comments:

Post a Comment