Saturday, October 24, 2015

ग्यास आयात गर्न चीनसँग सम्झौता








चीनका विभिन्न राज्यबाट ग्यास आयात गर्न दुई देशबीच सम्झौता आवश्यक भएको छ। ग्यास आयातको सम्भावना खोज्न चीन पुगेका व्यवसायीले सम्झौताका लागि सरकारसँग आग्रह गरिसकेका छन्। चीन सरकारसँग व्यापारिक सम्झौता नहुँदा तत्काल ग्यास ल्याउन सम्भव नभएको उनीहरूको भनाइ छ। सिगात्सेबाट ग्यास र गोरबाबाट पेट्रोल डिजेल ल्याउन सकिने सम्भावना रहेको व्यवसायी बताउँछन्। ‘ग्यासको हाहाकार अन्त गर्न चीनका विभिन्न प्रान्तबाट आयात गर्न सकिन्छ,’ एलपीजी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले भने, ‘तर, नेपाल र चीन सरकारबीच व्यापारिक सम्झौता नहुँदा ल्याउन सकिँदैन।’ घिमिरेका अनुसार छिन्दाई प्रान्तको गोरबा भन्ने ठाउँमा ठूलो रिफाइनरी छ। ती रिफाइनरीबाट तिब्बतका लागि इन्धन बितरण हुन्छ। ति रिफाइनेरी नेपाली बोर्डरबाट २७ सय किलो मिटर टाढा छ। गोरबाबाट पाइपलाइनबाट ल्हासासम्म पेट्रोल र डिजेल आउँछ। ल्हासाबाट पेट्रोल र डिजेल उपत्यका भित्र्याउन सकिने व्यवसायीहरूको बुझाइ छ। ग्यासको लागि भने सिगाछेबाट ल्याउनुपर्छ। सिगाछेबाट अनुमति भयो भने ग्यास बुलेट नेपाल भित्र्याउन सकिन्छ। संघका अनुसार तातोपानी नाका हुँदै १८ टनसम्मका बुलेट ल्याउन सकिन्छ। तर, सिगाछेमा २८ र १४ टनको मात्रै बुलेट रहेको घिमिरेले बताए। भारतबाट १८ टनको बुलेट आउँछ। यस्तै, न्यालमबाट पनि सिलिन्डरबाट ग्यास ल्याउन सकिन्छ। तर, ती ठाउँबाट आयात गरिएको सिलिन्डर महँगो पर्ने संघले जनाएको छ। ‘अध्ययनबाट सिगाछे नै उत्तम देखिएकाले थप जानकारीका लागि सोमबार जाने तयारी गरेका छौं,’ उनले भने। यसअघि आयल निगमका निमित नायब कार्यकारी निर्देशक सुशील भट्टराई, संघका अध्यक्ष शिव घिमिरे र ग्यास बिक्रेता महासंघका पूर्व अध्यक्ष ज्ञानेश्वर अर्यालको टोली केरुङ हुँदै न्यालम हिँडेको थियो। तर केरुङनजिकै पहिरो गएकोले टोली त्यहींबाट फर्किएको थियो। ‘प्रधानमन्त्रीको आदेशमा फूलपातीको दिन केरुङ गएका थियौं,’ पूर्व अध्यक्ष अर्यालले भने, ‘पहिराले बाटो अवरुद्ध भएकाले जान सकेनौं।’ उनले डिजेल/पेट्रोल आउन सक्ने सम्भावना भएकाले नेपाल र चीन सरकारबीच तत्काल छलफलको प्रक्रिया अघि बढाउनुपर्ने बताए। यस्तै, नेपालतर्फको सडक करिब ८ किलो मिटर बिग्रेकाले त्यसलाई तत्काल मर्मत गर्न सुझाव दिएको उनले बताए। महासंघले आवश्यकताअनुसार ल्याउने तयारी गरेको उनले बताए। ‘तातोपानीबाट ३० किलोमिटर नजिक कति भन्ने ठाउँबाट ल्याउने हाम्रो योजना छ,’ उनले भने। ग्यास आयात गर्नका लागि सबैलाई खुला गरिएको अर्यालको भनाइ छ। निजी क्षेत्रले आयात गर्दा भने केही महँगो पर्छ। एक सिलिन्डर ग्यासको मूल्य २२ सय ५० रुपैयाँ (बिनाकर) पर्ने महासंघले जनाएको छ। सरकारले नै आयात गर्दा भने केही सस्तो पर्ने अर्यालको भनाइ छ। ‘निगमले आयात गर्दा सरकार र सरकारबीच सहमति हुन्छ। जसले गर्दा एउटा सिलिन्डरलाई १६/१७ सय रुपैयाँ मात्रै पर्छ,’ उनले भने। नेपालमा एलपी ग्यासका ५३ वटा उद्योग छन्। तिनले ६२ लाख सिलिन्डर उत्पादन गरेका छन्। देशभर मासिक सरदर २० लाख सिलिन्डर खपत हुन्छन्। सरकारसँग ग्यास भण्डारण छैन। सामान्य अवस्थामा समेत मागकै बराबर आपूर्ति गर्ने, सिलिन्डरमा भर्ने र बजारमा पठाइहाल्ने प्रचलन छ। त्यही भएकाले जसले धेरैवटा सिलिन्डर भरेर उपभोक्ताले घरमै जगेडा राख्छ। भारतसँगका ६ वटा नाका धनगढी, नेपालगन्ज, भैरहवा, वीरगन्ज, विराटनगर र काँकडभिट्टाबाट ग्यास भित्रिन्छ। त्यसका लागि भारततर्फ ४ वटा रिफाइनरी सेन्टर (करनाल, मथुरा, बरौनी र हल्दिया) छन्।  अध्यक्ष घिमिरेका अनुसार सामान्य अवस्थामा ६ नाकाबाट दैनिक सरदर ६६ बुलेट ग्यास नेपाल छिर्छन्। एउटा बुलेटमा १२ सय ५० सिलिन्डर हुन्छ। तर, अहिले फाट्टफुट्ट मात्रै नेपाल भित्रिएको छ। उपत्यकामा भने भित्रिन सकेको छैन।

No comments:

Post a Comment